31 December 2020
30 December 2020
25 December 2020
जब उनी घाइते भइन
बाराको कोल्हबिको सुन्दर र मनोरम बिहानीको दृश्यलाई तिमी र म मिलेर कैद गर्ने उत्सुकतामा उत्ताउलो बनेर हिंडेको त्यो दिनमा तिम्रो त्यो दुर्घटनालाई मैले बिर्सन सकिन।
हामी संगै हिंडेका हाम्रा पथप्रदर्शक समीप नभएको भए सायद हाम्रो सम्बन्ध समेत अन्तिम हुंदो हो। त्यो बिहानीको शीतलता, शिर्शिरे हावा, बाटाको छेउछाउमा ठिंग उभिएर हामीलाई हेरीरहेका बटुवाहरु र बांसका घारीले सुशेली हालेर सुमधुर संगीतका धुनहरुको स्वागतले गदगद भएर हिंडी रहंदा तिमीलाई अचानक के भयो र तिमी हाम्फालेकी?
तिमीलाई एकोहोरो मायां गरेकै हो, तिमी बिना एकैछिन पनि बांच्न सक्दिन भनेर मैले भनिरहनु पनि पर्दैन। तिम्रो साथ नहुंदा कति छ्ट्पटाहत हुन्छ तिमीले देखेकै छौ। तिम्रो अनुपस्थितिमा मेरो अनुहारको रंग फेरिएको तिमीले देखेकै छौ। तै पनि त्यो दिन मैले के बिगार गरेको थिएं ? अनि म संग रिसाएर हाम्फालेर नै हिंड्नु पर्ने के बाध्यता आई पर्यो ?
बुझ्यौ, तिम्रो त्यो हर्कतले मेरो हंश नै उड्यो, मेरो मात्रै होइन समीप पनि हत्तारियो। धन्न ! तिमीलाई घाइते अवस्थामा उद्दार गरियो। तिम्रो त्यो बिक्षिप्त अनुहार, बेहोस भएको अवस्था देख्दा, हाम्रो मन धुरु धुरु रोयो। तिमीलाई एम्बुलेन्समा राखेर समयमै अस्पताल पुर्याउन नपाएको दुखेसो छ, हामीलाई ! तर त्यस्तो अवस्थामा पनि तिमीले त्यो बिहानीको सम्झना आफुले कैद गर्न नपाएनी के भयो र हामी संगै जाउँ, आफ्नो मक्सद पूरा गर भनेर तिमी पछि हटेनौ, तिम्रो उत्कट इच्छा र उक्साहट नभएको भए सायद त्यो दिनको सम्झना हामीबीच रहने थिएन।
तिमी घाइते भएर सुतेकी अवस्थामा तिमी बिनाका ती दिनहरु काट्न मलाई असाध्यै गार्हो भयो। तिम्रा साथीहरूले साथ दिन त कोशिश गरेका नै थिए, तर पनि तिम्रो साथको मज्जा बेग्लै हुन्छ, त्यो समय, त्यो क्षण, त्यो सामीप्यता, मैले अरु संग कसरी बिताउन सक्छु, कल्पना समेत गर्न सक्दिन।
बाराबाट काठमाडौं आएर तिम्रो त्यो बिक्षिप्त अनुहारको प्लास्टिक सर्जरी गरे पछि बल्ल तिमीलाई मैले स्पर्श गर्न पाएं। तिम्रो नयाँ जीबनलाई बधाई छ, मेरी प्यारी "मोबाईल" जीन्दगी। तिमी बिना बांच्न गार्हो छ। अब देखि म पनि धेरै सतर्क छु, सेल्फी खिच्नु अगाडि तिमीलाई कस्सेर बांध्ने गरेको छु। फेरि फेरि त्यस्तो गल्ती गर्ने छैन मेरी प्यारी "मोबाइल"! अस्तु।
21 December 2020
17 December 2020
10 December 2020
09 December 2020
08 December 2020
07 December 2020
Subscribe to:
Comments (Atom)

