Grab the widget  Get Widgets

Wednesday, 25 April 2018

शौचालय

सन् २००७ मे, जून महिना हुनु पर्छ, मैले खुम्बु क्षेत्रको पदयात्रा भ्रमण गर्ने अवसर पाएको थिएँ | त्यो बेलाका केहि घटनाहरु मेरो मानस पटलमा घरि घरि आइ रहन्छ | पत्रकार साथीहरुको राम्रो संगत पाएको त्यो अवसरमा कतिपय मेरा लेखहरु प्रकाशित भए, कति लेखेर पनि त्यस्सै रहे |
काठमाडौँबाट यती एअरलाइन्सको हवाईजहाजमा उडेको र लाम्जुरा पासमा जहाज हल्लाउँदा म संगैको साथीले सिट कस्सेर समातेको क्षण मैले कसरी बिर्सम ? संगैको नेवार साथी, डरले रात्तो पीरो भएको, आर्को सिटमा बसेको बाजेले राम राम भन्दै गरेको क्षण सम्झंदा झन् गज्जब लाग्दो रहेछ | उता शेर्पा साथीलाई त बानि परेको रहेछ | ओम् माने पेमे हुं भने पनि नडराएझै बस्यो | पछाडी पट्टिका गोराहरु भने ओ माई गड ! भनेर रमाई रहेका थिए |
नेवार साथीको हालत देखेर मलाई रमाइलो लाग्यो |
“ए पासा ! यो सिट समातेर के गरेको ? यो प्लेन हो, प्लेन, हवाईजहाज क्या ?”
पासा: ” ठा छ ठा छ, ऐले नकरा ! कस्टो डर लाइरा छ ”
“त्यो त तिम्रो मुख हेर्ने बित्तिकै थाहा पाएँ |तर मैले नबुझेको कुरो नि पासा, यो सिट समातेर तिम्रो डर हराउँछ ? अनि यो सिटको के भर खस्यो भने त झ्याप्पै हो नि पासा !” मैले झन् घिउ थप्ने काम पो गरेछु |
पासा: ” हे भगवान ! टिम्ले कस्टो काम लाएको होला, अनि कस्टो साथी दिएको होला ? यस्तो डर लाइरा बेलामा झन् टर्साउने पो गर्छ, बेमान बज्याले, तँ चुप लागेर बस्न सक्दैन भने उता हेर जा !”
त्यतिन्जेल लाम्जुरा पासको झट्का हटिसकेको थियो |
संसारको सबै भन्दा खतरनाक एअरपोर्ट, लुक्लामा राम्ररी ल्याण्ड भए पछी हामी सबै दंग पर्यौं | बिहानको हिमाल हेरेर दंग भएका हामी यात्रुहरु सबै फाक्दिंगको बाटो तर्फ लागियो | हामीलाई त्यो दिन मोन्जो पुग्नु पर्ने भएकोले फटाफट हिंड्नु थियो |
एउटा उकालोमा हामीले बिहानको खाना खानको लागि बिश्राम लिएका थियौं | त्यसै बेला “शौचालय” जाने लर्को पनि लाग्यो | बाटो बाटोमा प्रकृति तिर फर्केर मुत्रत्याग गरे पनि खुला सौच गर्ने हिम्मत चै हामीमा भएन | जाने बित्तिकै साउनी संग शौचालय कता छ भनेर सोधियो | साउनीले नजिकैको एउटा घर देखायो | कठबार लाएको एउटा कोठा|
त्यो कोठामा गएर हेर्दा केहि पनि देखिन र फर्केर फेरी सोधे ” साउनी ! Toilet कता छ? ”
साउनी: ” आघिनै मोइले भनेको होइन ? उ तेता छ भनेर ! नेपाली पनि बुज्दैन कि क्या हो यो रोंग्बाले !”
त्याँ त् केहि पनि छैन त् | न पानी छ, न पेपर छ? न साइफन |
साउनी: “यहाँ यस्तै हो राम्ररी हेर्नुस सबै छ”
आफुलाई पेट काटेर, पसिना पसिना भै सकेको अवस्था | फेरी त्यै कोठामा राम्ररी हेर्न जाँदा एक कुनामा स्याउलाको थुप्रो देखे | अंग्रेजीमा Use this after toilet भनेर लेखेको रहेछ | अनि साइफन खोजें, भेटिन, एउटा प्वाल भेटियो, त्यो पनि चारपाते | अनि त्यो प्वालबाट यस्सो तल हेरेको त, तल त जोप्क्यो पो रहेछ | अब त्यो प्वालमा बस्ने कि नबस्ने ? कोहि पनि नभएको त्यो कोठामा पनि लाजले रातै भईयो |
आफ्नो सौचको काम सुरु नै भएको थिएन, बाहिरबाट पासाले सूचना दियो ” ए पासा छिट्टो गर |”
जे पर्ला पर्ला, लौ त भनेर आफ्नो पेट सफा गर्ने काम गरियो | सायद जोप्क्योले देख्यो होला | अनि कुरी कुरी भन्यो होला | तर गज्जबको अनुभब “शौचालय”| अस्तु |