आज बिहान सबेरै छिमेकीको बच्चा बिरामी भएकोले ईशान बाल अस्पतालमा लगें । साढे चार बजेको थियो, अस्पताल पुग्दा। आकस्मिक कक्षमा हामी पुग्दा डाक्टर, सिस्टर, पाले सबै सुकुला हुनुहुन्थ्यो। धन्न लामो हा….ई काढेर पाले दाईले ग्रिल रेलिङ्ग खोल्नु भयो। सिस्टरलाई उठाउनु भयो। सिस्टरले डाक्टर साब को निन्द्रा खलबली होला भनेर पहिले डिग्री लगाउदै प्रेसर नाप्नु भयो बच्चा अचेत नै थियो। बल्ल डाक्टर साबलाई उठाउनु भयो। आँखा मिच्दै बिचरा डाक्टर साब निस्कनु भयो। बच्चाले गल्तीले छालामा लगाउने क्रिम खाएको कुरा बच्चाको आमाले बतायो। एकछिनमा नाडी छामिसके पछि बच्चा जुरुक्क उठेर ट्वाल्ल परेर हेर्यो र बच्चा झसंग झसंग तर्सिरहेको थियो।
साधारणतया यस्तो केसलाई पोइजनिङ्ग भन्ने रहेछ। बिचरा डाक्टरले यस्तो केस "मैले देखेको नै छैन" भनेर टिचिंगमा लैजान भन्यो। नजिकैको अस्पतालमा गएको बेकार भयो। बच्चाको आमा आत्तिएर किन फर्काएको होला भनेर चिन्तित भयो। तर के गर्ने डाक्टरले नै लैजाउ भने पछि लैजानुनै पर्यो।
पाँच बजे बिहानी पख हामी टिचिंग पुग्दा आकस्मिक कक्षमा बेड त के कुनै कुर्ची पनि बाँकी थिएन। बिरामीहरु एउटा खाटमा दुइ तीन जना बिरामी पनि खचाखच। नाम दर्ता गरे पछि मात्रै डाक्टर साबले सोध खोज गर्नु भयो। बाल कक्ष तिर रिफर भए पछि बल्ल शान्त भयो। बच्चाले एक पटक उल्टी गरे पछि सायद बच्चालाई आराम मिल्यो। कुरा गर्न थाल्यो। आमा चै ले बल्ल लामो श्वास फेर्यो र दङ्ग पर्यो।
संगैको बेडमा पखाला लागेको सानो बच्चीलाई (सायद पहिलो) बा आमा मिलेर न्यापिले सरसफाई गर्दै थियो। बच्ची टाइम टाइममा पीडाले छत्पटाउने गर्थी। दुवैले आफ्नो कर्तब्य सम्झेर मिलेर न्यापी सफा गर्दा आमाले छोरीलाई काखमा राखेर बाउले मल मुत्र सफाई गरेको देख्दा जोडी अच्छा रहेछ भन्ने आभास भयो। सायद हाम्रा आमा बा ले पनि यस्तै गरे होलान भन्ने मनमा लाग्यो। यसै बेला बच्चीलाई खोकीको साथै पेट पनि दुखेछ। जोडले चिच्याई बुरुक्क उफ्रिंदा फ्वारात्त फोहरा झैँ निस्क्यो। बाउको ज्याकेट पहेंलो रंग लगाएको जस्तो भयो। धन्न मायाको चिनोलाई बाउले घिन नमानी सकार्यो दायाँ बायाँ हेर्यो। मैले नदेखे झैँ गरें। सिस्टरले पनि नदेखे झैँ गरेर मुख छोपेर हाँस्यो। सायद मनमनै भन्यो बाउ हुन त्यसै सजिलो छ ? अस्तु।