Grab the widget  Get Widgets

Thursday 11 June 2015

भूकम्प र पालको बास

२०७२ बैशाख १२ गतेको भूकम्प र फेरी २९ गते आएको आर्को कम्पनले धेरै नेपाल भुमिमा बस्नेहरुलाई "ने" काटेर "पाल"को बास गरायो । २ - ४ दिन देखि हप्ता दिन, आधा महिना सम्म पालमा बास बस्नु पर्दा हामीले घर हेरेर बस्ने बाहेक अरु केहि गर्न सकेनौ ।

पालबाट घर हेर्दा घरले केहि बोल्छ कि जस्तो लाग्थ्यो । "किन तिमीहरु मलाई छाडेर खेतमा पाल टाँगेर बसेको?" भन्थ्यो । घर भित्र जान खोज्दा मृत्युको मुखमा गएको जस्तो लाग्थ्यो । घरको भित्ता, कोठा, ढोका सबैले बोल्छ जस्तो लाग्थ्यो ।

कहिले काही जिस्काए जस्तो पनि लाग्थ्यो । हत्तेरिका कति डराएका ? भन्थ्यो, जस्तो लाग्थ्यो । झ्यालले पनि हात हल्लाए जस्तो लाग्थ्यो । बत्तीले आँखा झिम्क्याए जस्तो लाग्थ्यो । टेलिफोनले घर भित्रै बस भने झैँ लाग्थ्यो ।

पटक पटक जमीन हल्लिंदा घरले " हेर है साहु ! तिमीहरुले बनाएको घर त ठिकै छ । सिमेन्ट, डण्डी राम्रै लाएका छौ, टाई बिम लगाएकै छौ, किन डराएका ? मलाई केहि हुन्न" भने झैं लाग्थ्यो । तर हाम्रो मनमा घर प्रति होइन आफु प्रति नै विश्वास थिएन । कुन बेला यमराजले लाने हो ठेगान छैन कति खेर फेरी कम्पन आउने हो कुर्ने सिवाय केहि गर्न सकिएन । कता जाँदा मरिने हो ? कुन ठाउमा खाल्डो चिरिने हो ? जमीन भास्सिने हो कि ? घर ढल्ने हो कि ? बिजुलीको खम्बाले लाग्ने हो कि ? छिमेकको घर पर्खाल लडेर ज्यान जाने हो कि ? तेस्सै अत्तालिएर मरिने हो कि ? मुटुको व्यथाले को खुस्किने हो कि ? के हो ? के हो ?

केहि कुरा लेख्ने कोशिस गर्दा केहि नफुर्ने । दिमागी सन्तुलन नै गुमेको जस्तो लाग्थ्यो । जहिले पनि जमीन हल्ले झैँ लाग्ने । कसैले "आयो" भनी बित्तिकै भागी हाल्ने बानि नै भयो । धारामा पानी आए पनि, पखाला लागेर आए पनि, फोन आए पनि, दाइ आए पनि, भाइ आए पनि "आयो" भन्ने बित्तिकै जुरुक्क उठेर टाप दिने मानिसहरु खोज्न कतै जानु परेन ।

सायद मानसिक अस्पतालका बिरामीहरु बरु ठिक भए होलान हामी चै बिरामी भयौं । कति हात खुट्टा नचलेर असक्त भएकाहरु सन्चो भए होलान डराएरै बरु । सुन्नमा पनि आएको थियो । एकजना पक्षघात भएर हिड्न नसक्ने मानिस जुरुक्क उठेर हिडे रे । त्यो त राम्रै भो । सबैलाई ज्यान जोगाउन हतार ।

हाम्रो काका पनि दमको बिरामी । भूकम्प आउदा, दौडेर आउन नसकेर भर्याङमा ठिङ्ग उभेर बस्नु भयो । हामी चै बाहिर निस्केर कराएर मात्रै बस्यौं । आफ्नै घर भित्र जाने हिम्मत आएन । आफैले आफैलाई धिक्कार भन्ने सिबाय अरु केहि गर्न सकिएन । लाचार नै भयौं ।

यो एउटा यस्तो अवस्था थियो जहाँ हामीले मानिस बाहेक जात पात, रंग भेद सबै बिर्सेका थियौं । मानवीय धर्म मात्रै जागृत भएको अवस्था थियो । सबैजना पालमा, खान एकै थालमा ।

हे, यो त जति लेखे नि नपुग्ने रहेछ । अहिले लाई यतिनै । अस्तु ।

No comments:

Post a Comment