Grab the widget  Get Widgets

Saturday 7 September 2013

छड्के

सामान्यतया छड्के भन्ने बित्तिकै अकस्मात बिना सूचना कार्यालयमा बडा हाकिमहरुले जांच गर्ने बुझेको छु । तर एउटा यस्तो घटना पनि मैले भोगेको छु जुन अहिले सम्म झस झस सम्झनामा आउँछ । त्यसैले जस्ताको तस्तै चित्रण गर्न खोजेको छु ।

सन् २००३ तिर मैले काम गर्ने कार्यालयमा बिहान ६ बजे देखि रात को १२ बजे सम्म पनि कामको चटारो देखेर हामी कर्मचारीहरु दिन रात खटेर सगरमाथा स्वर्ण महोत्सबको सफलताको लागि काम गर्दै थियौं । एक दिन हामी कर्मचारीहरुले रातको ८ बजे तिरै कार्यालयबाट छुट्टिने सहमति भयो र सबै जना घर घर गयौं ।

रातको ८:१० बजेको हुनु पर्छ सायद पालेको भनाई अनुसार । एक जना पदाधिकारी कार्यालय पुगेछन त्यो पनि झल्लु अवस्थामा । कार्यालयको मूल ढोकामा ढ्याम्म लात्ताले हिर्काउदा राति पालो बस्ने पाले पनि झसङ्ग भएछ । चोर आयो कि डाका आयो भनेर। बाहिर हेर्दा त आफ्नै पदाधिकारी रहेछ ।

के गर्ने । के नगर्ने । झल्लु हाकिम त सरासर भित्र पसेर हाजिरी कापी खोजेछन । त्यसपछि धमाधम रातो मसिले कोर्न थालेछन । एक घण्टा लगाएर भए भरको कताको रिस हो पोखेर दङ्ग पर्दै हेर तेरो हाकिमहरुको हाजिरीमा मैले रातो चिन्ह लगाई दिएँ भनेर पालेलाई फुर्ति पनि लगाएछ । 

पाले बिचार के गरोस । अनि किन रातो चिन्ह लगाउनु भएको नि सर भनेछन । "तँलाई थाहा छैन ? छड्के भनेको ? यहि त हो नि ? बिचरा पाले,  "य…….   यस्तो पो हुंदो रहेछ छड्के भनेको बल्ल बुझें । पहिला पहिला त बिहान १० बजे छड्के भनेको सुनेको थिएँ, अब राति ८ बजे पनि छड्के गर्न मिल्दो रहेछ " बल्ल बुझें । कार्यालय समय पनि नचाहिँदो रहेछ ।

"म त तेरो पदाधिकारी हो न मतलब बडा हाकिम, मलाई जहिले जे मन पर्छ त्यहि बेला जे पनि गर्न सक्छु, त्यस्तै यो छड्के पनि जहिले मन लाग्छ, तहिले गर्न सक्छु । बुझिस् ।" अस्तु ।

No comments:

Post a Comment