Grab the widget  Get Widgets

15 December 2025

दाने दाने पे लिखता है खाने वालोंका नाम

ठुल्दादा आज अलि गडबड मुडमा थिए। बिहान आँखा खुल्दा घडीले नै जिस्काएजस्तो गर्‍यो। “आज त ढिलो भइसक्यो” भन्ने संकेत दिँदै। भान्सातिर हेरे, चुलो चिसै। हिजो किनेर ल्याएको सामान खोजे, सामानले पनि आज बिदा लिएको जस्तो। अन्ततः ठुल्दादाले गहिरो सास फेरे, “ल, आज त कर्ममै लेखिएको रहेछ, नास्ता नखानु” भन्दै अफिसतिर लागे।

अफिस पुगेको पाँच मिनेट पनि नबित्दै सेक्रेटरीले अनुहार हेरेरै नाडी छामिन्।
“सर, आज बिहान ब्रेकफास्ट गरेर आउनु भएन कि क्या हो?”
ठुल्दादा झस्किए। मनमनै, “ए, यो त ज्योतिषी हो कि के हो?” अनुहारमा अलि नक्कली मुस्कान झुण्ड्याएर भने,
“त्यस्तो त हैन।”

तर झूट बोल्न पनि आत्मबल चाहिँदो रहेछ। आवाजमा ओज थिएन। सेक्रेटरीले तुरुन्तै भनिन्।
“हैन सर, आज तपाईंको मुख त निन्याउरो छ नि। म त आज बिहान खान नभ्याएर क्यान्टिनमै खाने सोच्दै छु। सर पनि आउनु हुन्छ कि भनेर सोधेको।”

अब ठुल्दादाले कुरा लुकाउन सकेनन्।
“खासै खान मन नभएर नखाई आएको,” भारी मनले बोले।
अनि तुरुन्तै थपे, “तिमी जाँदै गर, म पनि अलिकति काम सकेर आउँछु।”

वास्तविकता त के थियो भने, मन नलागेर होइन, आज समय र सामान दुबैले धोका दिएका थिए। ठुल्दादालाई यस्तो अनुभव नयाँ चाहिँ थिएन। चियाको तल तल लागेको बेलामा चिया सकिन्छ, नुहाउन खोज्दा पानी सकिन्छ, साबुन सकिन्छ, मोबाइल चार्ज गर्न खोज्दा चार्जर नै हराउँछ। तर आज भने मन अलि चिस्सै भयो। “सायद पूर्वजन्मको कर्म होला,” भनेर आफैंलाई सम्झाए।

अन्ततः सेक्रेटरीसँगै क्यान्टिनमा बसेर नास्ता खाए। खाना स्वादिलो थियो कि संगत मिठो थियो, छुट्याउनै सकेनन्।
त्यही बेला ठुल्दादालाई पुरानो भनाइ याद आयो, “दाने दाने पे लिखता है खाने वालोंका नाम।” आज त्यो नाम सेक्रेटरी संग नै खानुपर्ने लिस्टमा परेछ। अस्तु!

13 December 2025

नेपाल: पर्यटनको लागि प्राकृतिक डिस्नेल्याण्ड

यदि कसैले तपाईंलाई सोध्यो, “डिस्नेल्याण्ड कहाँ छ?” तपाईंले हाँस्दै भन्न सक्नुहुन्छ, “हं हं, कहाँ हुनु नि! नेपालमा।” किनभने यहाँ मिकी माउस त छैन, तर हिमाल, पहाड, जंगल, नदी, संस्कृति र साहसिक अनुभवको यस्तो मिश्रण छ, जुन संसारका कुनै पनि थिम पार्कले नक्कल गर्न सक्दैन।

नेपालमा बिहान आँखा खोल्ने बित्तिकै सुन्दर हिमाल मुस्कुराइरहेको देख्न सकिन्छ, दिउँसो जंगल सफारीमा गैंडा र बाघसँग आँखा जुदाएर बस्न सकिन्छ र बेलुकी स्थानीय समुदायको परिकार खाँदै सांस्कृतिक नाच हेर्न पाइन्छ। यो त एउटै टिकटमा धेरै खेल खेल्न पाइने डिस्नेल्याण्ड जस्तो भयो, होइन र?

यहाँको ट्रेकिङ ट्रेलहरू रोलर कोस्टर भन्दा कम छैनन्। कहिले उकालोमा सास रोकिन्छ, कहिले ओरालोमा घुँडा दुख्छ। तर गन्तव्य मा देखिने दृश्यले सबै थकान एक निमेशमा नै बिर्साइदिन्छ। साहसिक पर्यटकका लागि र्‍याफ्टिङ, प्याराग्लाइडिङ, बन्जी जम्पिङ जस्ता गतिविधि छन्, जहाँ डर र मज्जा सँगसँगै आउँछन्। डर लाग्यो भने डराउनु पर्दैन, नेपालमा डर पनि रमाइलो हुन्छ।

नेपालको अर्को विशेषता भनेको यहाँका मानिसहरू हुन्। यहाँका मुस्कान निःशुल्क छन्, आतिथ्य हृदयबाट आउँछ, र “अतिथि देवो भव:” व्यवहारमा अझै लागू हुन्छ। कहिलेकाहीँ बाटो कता हो? भनेर गाउँमा सोध्दा पनि चिया खाएर जानुस् भने पछि चिया खान बस्नुपर्छ, यो गज्जबको आतिथ्य र बोनस सुविधा हो।

प्राकृतिक सुन्दरता, सांस्कृतिक विविधता र मनोरम अनुभव खोज्ने यात्रुका लागि नेपाल केवल गन्तव्य होइन, जीवनभर सम्झन लायक अनुभव हो। यदि तपाईं कृत्रिम मनोरञ्जनबाट वाक्क दिक्क हुनुहुन्छ र प्रकृतिसँगै रमाइलो गर्न चाहनुहुन्छ भने, नेपालको यात्रा तपाईंको लागि सही छनोट हो।

आउनुस्, तपाईं जुन देशमा बस्नु भए पनि आफ्नो पुर्ख्यौली देश सम्झेर तपाईंका साथीहरु लिएर नेपालको यो प्राकृतिक डिस्नेल्याण्ड घुम्न आउनुस। यहाँबाट फर्किँदा तपाईंको क्यामेरामा फोटो मात्र होइन, मन भरी आतिथ्यका सम्झनाले भरिएको पाउनु हुनेछ। अस्तु। 

09 December 2025

Good Morning Nepal

#vinayashakya #vinayashakyapodcast #NotebookLM #TravelConsultant #Academician #MarketingNepal #MarketingConsultant

07 December 2025

गुनासोको पोका

संधै क्याईं क्याईं! क्याईं क्याईं ! गर्ने ​माइजुको गुनासो, ब्याट्री सकिन लागेको घण्टी जस्तै थियो, सधैँ बजिरहने, तर घरका परिवारका सदस्यहरुलाई भने बानी परिसकेपछि कसैले नसुन्ने। छु मतलब! "यस घरमा मेरो कुरा सुन्ने कोहि छैन," उहाँ भन्नुहुन्थ्यो। "सबैलाई खाना पकाइदिने, खुवाउने जिम्मा मेरो, कर्तब्य मेरो, तर मलाई 'खायौ कि नाइँ' भनेर सोध्ने कोही छैनन्। मतलबी जमात!"

​मामालाई यो कुराले च्वास्स, घोच्यो। आखिर, उहाँ पनि त "मतलबी जमात" भित्रै पर्नुहुन्थ्यो। बिहानीको लामो ध्यान र योगाभ्यास सकिएपछी, एका बिहानै, मामाले एउटा क्रान्तिकारी कदम चाल्नुभयो।

​"ए सुनिता!" मामाले भान्साकोठाको ढोकामा टाउको छिराउनुभयो, "आज तिमीले बिहान नास्ता खायौ कि नाइँ?"

​माइजुले चुल्होमा कुकर बसाल्दै हुनुहुन्थ्यो। मामाको प्रश्न सुनेर उहाँ एक सेकेन्डका लागि चुप्प बस्नु भयो, मानौं कुनै अचम्म हुने र छ की क्या हो भनेर गम्नु भयो। कर्के नजरले मामालाई हेर्नु भयो |

​"ओहो, आज त सूर्य पश्चिमबाट उदाएछ कि क्या हो?" माइजुले कुकर चुल्होमा राखेर दुवै हात कम्मरमा अड्याउनुभयो। "तिमीहरूले पकाएर दिन्छ र खाम्ला भनेको भए त, म कता पुगिसक्थें होला! कति हाई सन्चो हुन्थ्यो होला| अहिले सम्म, कहिले एक पटक पकाएर दिएका छौ? मैले नपकाई खानै नहुने तिमीहरूलाई, साँच्चै मेरो याद आएको हो र?" उहाँको आवाजमा वर्षौंको गुनासोको भण्डार थियो जुन एकैचोटि ढ्याम्म बाँध फुटे झैं फुट्यो।


​मामा तीन कदम पछि हट्नुभयो, माइजुको शब्द बाणको प्रहारबाट जोगिन।

​"हेर सुनिता," मामाले स्पष्टीकरण दिंदै हात हल्लाउनुभयो, "मैले तिमीलाई पकाएर खुवाम्ला भनेर सोधेकै हैन, तिमीले सधैं गुनासो गरिराख्छ्यौ, 'कसैले सोध्दैनन्' भनेर। त्यसैले, मैले आज 'सोधेको' मात्रै हो। तिम्रो मन राखी दिन खोजेको मात्रै हो| खाना नै पकाएर दिम्ला भनेर त, सोचेको पनि छैन, है ! मैले पकाउन थालें भने मेरो काम कसले गरिदिन्छ नि अफिसमा ?"

​माइजु एकछिन अक्क न बक्क हुनुभयो। मामाले गुनासोको मूल कारणलाई हैन, केवल गुनासोको प्रक्रियालाई मात्रै  सम्बोधन गरेकोमा उहाँलाई अचम्म पनि लाग्यो।

​"मलाई सोध्नुभन्दा राम्रो त, दुई चार चम्चा चिनी हालेर चिया बनाइदिए हुने नि!" माइजुले हताश हुँदै भन्नुभयो।

​"अँहँ! सोध्ने काम सकियो," मामाले छड्के मुस्कान दिनुभयो। "अब तिम्रो 'कोही सोध्दैनन्' भन्ने गुनासोको कोटा सकियो, होला हगी? ल म हिँडे।" भनेर खुरुक्क निस्कनु भयो | अनि भन्नु भयो, वाक न प्वाक, तीन माना क्वाप! यस्तालाई गुनासो के गर्ने? अस्तु |