Pages

13 December 2025

नेपाल: पर्यटनको लागि प्राकृतिक डिस्नेल्याण्ड

यदि कसैले तपाईंलाई सोध्यो, “डिस्नेल्याण्ड कहाँ छ?” तपाईंले हाँस्दै भन्न सक्नुहुन्छ, “हं हं, कहाँ हुनु नि! नेपालमा।” किनभने यहाँ मिकी माउस त छैन, तर हिमाल, पहाड, जंगल, नदी, संस्कृति र साहसिक अनुभवको यस्तो मिश्रण छ, जुन संसारका कुनै पनि थिम पार्कले नक्कल गर्न सक्दैन।

नेपालमा बिहान आँखा खोल्ने बित्तिकै सुन्दर हिमाल मुस्कुराइरहेको देख्न सकिन्छ, दिउँसो जंगल सफारीमा गैंडा र बाघसँग आँखा जुदाएर बस्न सकिन्छ र बेलुकी स्थानीय समुदायको परिकार खाँदै सांस्कृतिक नाच हेर्न पाइन्छ। यो त एउटै टिकटमा धेरै खेल खेल्न पाइने डिस्नेल्याण्ड जस्तो भयो, होइन र?

यहाँको ट्रेकिङ ट्रेलहरू रोलर कोस्टर भन्दा कम छैनन्। कहिले उकालोमा सास रोकिन्छ, कहिले ओरालोमा घुँडा दुख्छ। तर गन्तव्य मा देखिने दृश्यले सबै थकान एक निमेशमा नै बिर्साइदिन्छ। साहसिक पर्यटकका लागि र्‍याफ्टिङ, प्याराग्लाइडिङ, बन्जी जम्पिङ जस्ता गतिविधि छन्, जहाँ डर र मज्जा सँगसँगै आउँछन्। डर लाग्यो भने डराउनु पर्दैन, नेपालमा डर पनि रमाइलो हुन्छ।

नेपालको अर्को विशेषता भनेको यहाँका मानिसहरू हुन्। यहाँका मुस्कान निःशुल्क छन्, आतिथ्य हृदयबाट आउँछ, र “अतिथि देवो भव:” व्यवहारमा अझै लागू हुन्छ। कहिलेकाहीँ बाटो कता हो? भनेर गाउँमा सोध्दा पनि चिया खाएर जानुस् भने पछि चिया खान बस्नुपर्छ, यो गज्जबको आतिथ्य र बोनस सुविधा हो।

प्राकृतिक सुन्दरता, सांस्कृतिक विविधता र मनोरम अनुभव खोज्ने यात्रुका लागि नेपाल केवल गन्तव्य होइन, जीवनभर सम्झन लायक अनुभव हो। यदि तपाईं कृत्रिम मनोरञ्जनबाट वाक्क दिक्क हुनुहुन्छ र प्रकृतिसँगै रमाइलो गर्न चाहनुहुन्छ भने, नेपालको यात्रा तपाईंको लागि सही छनोट हो।

आउनुस्, तपाईं जुन देशमा बस्नु भए पनि आफ्नो पुर्ख्यौली देश सम्झेर तपाईंका साथीहरु लिएर नेपालको यो प्राकृतिक डिस्नेल्याण्ड घुम्न आउनुस। यहाँबाट फर्किँदा तपाईंको क्यामेरामा फोटो मात्र होइन, मन भरी आतिथ्यका सम्झनाले भरिएको पाउनु हुनेछ। अस्तु। 

No comments:

Post a Comment