Grab the widget  Get Widgets

Sunday 14 April 2024

मलाई मानिसको व्यवहार गरिदिनोस, प्रभु!

हाकिम साब! म मान्छे हो, कति जोत्नु हुन्छ? मलाई गोरु जोते जस्तो! बिहान आउने बित्तिकै हजूरको टेबुलमा पानी राख्नु अगाडि अफिसको बडार कुडार गर्नु पर्छ, हजूर आउनु भन्दा पहिले अफिसाँ आई पुग्नु पर्छ, दिनभर चिया र कफि अनि दिउँसो टेबुल टेबुलमा खाजा। भांडा कसैले यताबाट उता सार्दैनन। तीन तला माथी चिया बनाउने कोठा छ। याँको फाइल त्याँ पुर्‍याउन पनि मलाई नै बोलाउनु हुन्छ। अरे सबै हाकिम साबहरुको गोडा फुस्केको छ कि म सानो जागिरे भनेर सबै काम मलाई नै अर्‍हाउनु भएको? तपाईंहरु ओल्लो टेबुलबाट पल्लो टेबुलमा पनि जान सक्नु हुन्न कि जान हुंदैन? अनि सबै हाकिमसाबहरुको घर फिर्ती सवारी भए पछि बल्ल म घर जान पाउँछु। 

घरमा मेरा परिवार बाटो हेरेर बसेका हुन्छन् । मैले खानेकुरा लगेन भने मेरा परिवारले खान पाउंदैनन। बिचराहरु मलाई कुरेर आशा गरेका हुन्छन् । तपाईंहरु पो ब्रेकफास्ट, लन्च, डिनर ज्युनार गरिबक्सनु हुन्छ। हामी त उई सिस्नो र ढींडो बिहान र बेलुकीको दुई छाक हो। दसैंमा तपाईंहरुले दिनु भएको दान दक्षिणाबाट मासु भात खाइन्छ। अरु बेला साकाहारी भनेर टारिन्छ। बिन्ती छ मलाई मानिसको व्यवहार गरिदिनोस न प्रभु! म पनि मानिस नै हो। मलाई पनि थकाई लाग्छ। 

Wednesday 10 April 2024

सबै छन् तर म एक्लो छु

ठुल्दाई भन्दै हुनुहुन्थ्यो, मेरा परिवारमा सबै छन् तर म एक्लो छु। आमा बाउले उहिले घरबाट निकाली दियो, काम पनि छैन, पैसा पनि कमाउन सकेन भनेर। जेनतेन पदयात्रामा भारी बोक्ने काम गर्दै जिबिका चलाउंदै थिएं। 

पदयात्राको बाटोमा होटल चलाउने साहुजीको छोरी संग मायां प्रेम बस्यो। हरेक सिजनमा पदयात्रामा जांदा बास बस्ने ठाउँमा हाम्रो सम्बन्ध रह्यो। साहुजीले सोझो केटो रैछ। कर्मको फल भोग भनेर छोरीलाई बिदाई गरिदियो। जिन्दगीमा प्रेम गर्दा भन्दा परिवार चलाउंदा आर्थिक भार पनि थपिंदो रैछ भन्ने ठुल्दाईले बल्ल बुझेको थियो।

भरियाको कमाईले परिवार चलाउन सकिएन, साथ दिन्छु भन्ने श्रीमतीले छाडेर गइन। दिदी, भाई, बहिनी सबै तर्किएर हिंडेपछी नातागोताले झन के गर्थे र! किन रोइस मंगले आफ्नै ढंगले, भनेर गाउंलेहरुले मजाक बनाउंछ्न। त्यसैले आजकाल गाउँ जान पनि मन मान्दैन। सबै छन् तर म एक्लो छु।

तरकारी

ए बुढा! आज बेलुकी अफिसबाट फर्कंदा तरकारी लेराउनुस है!
हुन्छ, ल्याउन न ल्याउने के के ल्याउने?
हेरेर ल्याउनुस न! 
भान्टा, सिमी, बोडी, च्याउ, लौका? के ल्याउने?
होइन बुढा! यस्सो हेरेर ल्याउन सक्नुहुन्न?

बेलुकी श्रीमानले तरकारी किनेर ल्यायो। 
हत्तेरीका! कस्तो बुढो रैछ? हिजो घिरौंला खाएको बिर्स्यो? आज पनि घिरौंला नै ल्याछ। अनि यो फर्सी हिजो बिहान खाको होईन! कति खानी? एउटै तरकारी!

ए ! हो त! हई! एउटै तरकारी नि कति खानी? अनि बिहान मैले सोधेको होइन? के लेराउने भनेर? यस्सो हेरेर ल्याउ भनेको होइन?

हुन त हो। अनि हिजो बिहान र बेलुकी खाएको तरकारी नै किन ल्याउनु परेको त?

मलाई मीठो लाएर नि। खाएकै बिर्स्यो भन्न भएन क्यार! अस्तु।

Tuesday 26 March 2024

त्यो रुखको गुंड

त्यो रुखको गुंडमा एक जोडी चरा बस्ने गरेकोले संधै बिहानीको चिरबिर देखि सांझको बसाई सम्मको दृश्य हेर्ने मौका पाइन्छ। चराहरुको जिन्दगी पनि रमाइलो हुने गर्छ। हरेक मौसम अनुसार उनीहरुको गतिविधिमा परिबर्तन देख्न पाइन्छ।

मौसम परिवर्तन संगै जिन्दगी चलाउन यो जोडीले बडो मिहेनत गरेको देखिन्छ। हिउँदको चिसो र बर्षाको पानी अनि गर्मीको घामबाट आफ्नो गुंड जोगाई सन्तान बृद्धीको समेत अभिभारा यो जोडीले बहुत मिहेनतका साथ काम गरेको देखिन्छ। एक पटक चार वटा अण्डा पारेछ। एउटा अन्डा कागले चोरेर खाई दियो। तीन वटा अण्डा कोरल्न बसेकी चरीलाई चराले खाना खोजेर ल्याइ दिने काम बडो मिहेनतका साथ गरेको हेर्दा पनि हामीलाई निक्कै रमाइलो लाग्नुका साथै प्रेरणा पनि मिल्छ।

बचेराहरुलाई किरा फटयांग्रा खुवाउने देखि उड्ने कला सम्म सिकाएको देख्दा बडो ताज्जुब लाग्छ। गुंडबाट कहिले काहीं फुट्ट झरेको बेला र काग र चिलले आक्रमण गरेको देख्दा मन भारी हुन्छ। तर पनि यी सबै खतराबाट मुक्त गराएर उड्न जाने पछि ती सबै बचेराहरुले गुंड छाडेर गएको देख्दा भने हाम्रो देशको ब्यथा संग मेल खाए जस्तो लाग्छ।

बाल बच्चाहरु हुर्कायो, बढायो, पढायो, भए भरको सम्पत्ति शिक्षा दिक्षामा खनायो, अनि छोराछोरीले कमाएर फिर्ता देला नि भन्ने बेलामा आफ्ना सन्तानहरु भुरुर उडेर बिदेशमा। हातलाग्यो शून्य। 

Tuesday 27 February 2024

खोकिको ओखती

खोक्दा खोक्दा असिन पसिन भएको बेला उस्को श्रीमती च्याठ्ठीएर चिच्यायो, के खोकिरा बूढो ! हसुर्ने बेलामा केही देख्दैनौ ! जे देख्यो त्यै मुखाँ कोचार्‍यो, अहिले टाइम न बे टाइम खोक्याछ, बस्याछ। भन्यां कुरा सुन्ने भएपो !

बूढो:(लाचार हुँदै) एउटा कागती काटेर ग्यासाँ पोलेर, बेसार एक चम्चा त्यै कागतीमा राखेर तात्तातो ल्याइदेन त !

बुढी: अब ल्याउनै पर्‍यो नि, नत्र रातभर खोकेर सुत्न दिन्नौ क्यारे !
थमक थमक परेर भान्सामा गईवरी एउटा रसिलो कागती देब्रे हत्केलामा राखी र दाइने हातको चक्कुले दुई फ्यांक पारी अनि ग्यांस चुलोको बर्नरको सेन्टरमा राखेर लाइटरले चुलो सल्काई । कागतीको बोक्रा कालो कालो हुनासाथ एक चम्चा बेसार कागतीमा राख्यो र चिच्यायो ! ए बूढो ! झट्ट आउ, फेरि चिसो होला !

बूढो: हस्यांंग फस्यांग गर्दै आयो, पोलेको कागती क्वाप्प मुखाँ हाल्यो । आत्था ! कस्तो पोलेको तातो छ भन्न पर्दैन ?

बुढी: केही भन्न नपाउंदै क्वाप्प मुखाँ कोचारेसी क्यार्नु त ! ओखती हो क्यारे, अलिकति पोलेर के भो त !

Friday 16 February 2024

धन्यवादको अपेक्षा

पासा१: ओहो! के हो पासा? खोलो तर्‍यो लौरो बिर्स्यो? त्यत्रो काम गर्दिए पछि धन्यवाद सम्म पनि भनेनस गांठे!
पासा२: तंलाई सामाजिक संजालमा नै सप्पैले देख्ने गरी बधाई लेखेको पढेनस्? कुन जमानामा छस्? हो?
पासा१: त्यो त मैले पढें। तै पनि यस्सो फुन हानेर तेरो मुखैले बोले के बिग्रन्थो त गांठे? तेरो स्वरमै सुन्न पाए अझ राम्रो हुन्थ्यो त गांठे!
पासा२: तंलाई मेसेज पठाए पनि फोन गरेर मेसेज पढ है भन्नु पर्ने जस्तो कुरो गरिस् नि!
पासा१: हो त नि! गांठे! मेसेन्जरमा निम्ता पठाएको ठाममा म त जान्न, फुन गरेछ भने चैं गइन्छ। मेसेन्जरमा पठायो भने यस्सो सम्मान नै नदिए झैं लाग्छ क्या! 
पासा२: संसार AI (Artificial intelligence) को  जमानामा गैसक्यो, तँ चैं अझै सिमसिम बाजेको पालाको जस्तो कुरो गर्छस्। 
पासा१: धेरै जान्ने हुनु पर्दैन, मलाई पनि सामाजिक सञ्जाल चलाउन आउँछ। बुझिस?
पासा२: जानिस! जानिस! Messenger मा भएको कुरो फोन गरेर भन्नु पर्ने भएसी सबै राम्ररी बुझी हालिस नि।

Thursday 15 February 2024

आशा

हैन ए बुढा! जाबो यत्ति काम गर्दैउ न! भन्दा पनि खुट्टा दुख्यो, टाउको दुख्यो, पेट दुख्यो भन्छौ त! मैले भात पकाएर खुवाएको छैन कि? लुगा धोई दिएको छैन कि? पसल गै दिएको छैन कि? सबै मैले मात्रै गर्दिने? तिम्ले चै के गर्देका छौ? आश गर्नु नै बेकार भो!

मैले त केहि गर्न सक्दिन, र सकेको पनि छैन। अहिले सम्म आफ्नो परिवारलाई त केहि गर्न सकेको छैन, हाम्रो छोराछोरीलाई पनि केही गर्न सकेको छैन। तिमीलाई त झन के नै सहयोग गर्न सकेको छु र? केवल दुःख मात्रै दिन सकेको छु। 

अझै अहिले त झन यो बुढेसकालमा रोगले सताएको बेलामा म के नै गर्न सक्छु र? उमेर हुंदा त मैले केहि गर्न सकेन, अब डांडा पारीको जीवनमा म बाट के आशा गर्छौ? प्रिय! बांचुन्जेल तिमीलाई मीठो लाग्ने शब्द बोल्न पाउँ भनेर "आशा" खोज्दैछु, जीवनको गोरेटोमा।

Wednesday 14 February 2024

शेष पछि

छोरा: आमा त्यो तिम्रो एउटा बिमाको परिचय पत्रमा शेष पछि भनेर दिदीको नाम पो लेखेको रैछ? किन र म यहाँ थिएन? छैन? म तपाईंको एक्लो छोरा होइन र? आमालाई सोधेछ।

आमा: तँ गाउँमा गाडी चलाउन गा थिइस! अनि बिमा कम्पनीले छोराछोरी जस्को नाम राखेनि हुन्छ भनेकोले तेरो दिदीको नाम राख्देको नि। कुन ठुलो कुरो भो र?

छोरा: ए! त्यो बिहे भएर गएकी दिदी चैं तिमी बिरामी हुंदा, यता उता जांदा तिमी संगै जाने आउने हो र? म घर मै हुंदा पनि तिम्ले मलाई केही नभनी, पारी गाउँमा पोइको घरमा बसेकी दिदीलाई खबर पुर्‍याउन पठाकी रैछौ! कालेले मलाई मेरै गाडीमा चढेर, तेरो दिदीको घरमा सम्चार पुर्‍याउन जान लागेको, तेरी आमा सन्चो नभएको तंलाई मतलब छैन? त्यै सम्चार तेरो दिदीकोमा पुर्‍याउन जान लाको भन्दैथ्यो त। मलाई किन नभनेको, सन्चो नभएको?

आमा: तेरो काममा जानु पर्छ भनेर नि। अनि न्यास्रो पनि लाग्यो, छोरीको अनुहार हेर्न नपाएको पनि एक हप्ता भएछ। सन्चो नभएको सम्चार सुने पछि दौडेर आउला नि, तेरी दिदी! मेरो बिमामा शेष पछि त्यस्को नाम राखे पछि त्यस्लाई पनि त थाहा दिनु पर्‍यो नि। परेन त? बाउ आमाको शेष पछि आफ्नो सन्तानको नाम राख्न कानुनले रोकेको छैन क्यार!

Tuesday 13 February 2024

जिन्दगी

बाउलाई के भन्ने?
आमालाई कसरी भन्ने?
दाजुभाईलाई के मतलब र?
दिदीबहिनीलाई के को चासो?
छोराछोरीलाई किन भन्ने?
अनि तिम्लाई नभने कस्लाई भन्ने?
रिसाउ या खुसाउ,
आखिर "जिन्दगी" न हो
भरोसा तिम्रै त हो।
साथ तिम्रै त हो।
सुखदुःख हाम्रै त हो।
रहर हाम्रै त हो।


(नोट: कसैको जीवन संग मेल खान गए संयोग मात्रै होला, पाठकको प्रतिक्रियाको अपेक्षा राखेको छु।)